नुवाकोट । नुवाकोट, रसुवा तथा धादिङ जिल्लाका हजारौं नागरिकको उपचारको प्रमुख केन्द्रका रूपमा रहेको त्रिशूली अस्पतालको स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारले उल्लेखनीय बजेट विनियोजन गरेको छ।
अस्पतालको भौतिक पूर्वाधार विस्तार तथा सेवा सुधारका लागि विभिन्न शीर्षकमा करोडौं रुपैयाँ छुट्याइएपछि स्थानीयवासीमा उत्साह थपिएको छ।
सार्वजनिक गरिएको विवरणअनुसार मातृ तथा शिशु वार्डसहित त्रिशूली अस्पताल भवन निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ, अस्पतालको क्यान्टिन निर्माणका लागि २० लाख रुपैयाँ, सभाहल निर्माणका लागि २० लाख रुपैयाँ तथा अस्पताल सञ्चालनका लागि आवश्यक औजार तथा उपकरण खरिद गर्न ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
त्रिशूली अस्पताल नुवाकोट मात्र नभई छिमेकी जिल्ला रसुवा र धादिङका नागरिकको समेत उपचारको भरोसायोग्य केन्द्रका रूपमा स्थापित छ। दैनिक रूपमा तीन जिल्लाबाट आउने बिरामीको चाप व्यवस्थापन गर्न अस्पतालले विभिन्न चुनौती सामना गर्दै आएको अवस्थामा प्रदेश सरकारबाट प्राप्त यो बजेटले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले बजेट विनियोजनले अस्पताल सुधार अभियानलाई नयाँ गति दिने बताएका छन्। उनले भने, “त्रिशूली अस्पताल नुवाकोट, रसुवा र धादिङका नागरिकको स्वास्थ्य सेवाको आधार बनेको छ। प्रदेश सरकारले अस्पतालको आवश्यकता बुझेर बजेट विनियोजन गरेको छ। यसले भौतिक पूर्वाधार विकाससँगै सेवाको गुणस्तर अभिवृद्धि गर्न ठुलो राहत पुग्नेछ। आगामी दिनमा नागरिकले अझ प्रभावकारी र सहज स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिएका छौं।”
अस्पतालका लागि बजेट विनियोजनमा पहल गरेको भन्दै बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामा, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, स्वास्थ्य मन्त्री किरण थापा तथा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठप्रति अस्पताल व्यवस्थापन समितिले आभार व्यक्त गरेको छ।
त्रिशूली अस्पतालमा विनियोजित यो बजेटले अस्पतालको पूर्वाधार विकास, सेवा विस्तार र उपचारको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी तीन जिल्लाका सर्वसाधारण नागरिकले सहज, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्