नुवाकोट, जेठ २ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले जेठ महिनामा अपराध नियन्त्रण, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उल्लेखनीय कार्यसम्पादन गरेको जनाएको छ। कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार विभिन्न मुद्दाका ३० जना फरार प्रतिवादी पक्राउ परेका छन् भने ११ जनाले आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार फैसला कार्यान्वयनतर्फ १६ जना फरार प्रतिवादी पक्राउ गरी ६ महिना ३० दिन कैद तथा रु. ७० हजार ७ सय ७८ जरिवाना असुल गरिएको छ। चालु मुद्दामा ३० जना प्रतिवादी पक्राउ परेका छन् भने एक मुद्दा फर्छ्योट गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी क्षेत्रमा जेठ महिनामा ८ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्। हराएका ९ जनामध्ये ६ जना फेला परेका छन् भने ३ जना अझै सम्पर्कविहीन रहेका छन्।
यस्तै, वडा उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ३२ वटा उजुरी प्राप्त भएकोमा ९ वटा फर्छ्योट भएका छन् र २३ वटा प्रक्रियामा छन्। जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त १३ उजुरीमध्ये २ वटा फर्छ्योट भई ११ वटा प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।
प्रहरी तथ्यांकअनुसार जेठ महिनामा ११ वटा आत्महत्याका घटना र ११ वटा आत्महत्याको प्रयासका घटना भएका छन्। अधिकांश घटनामा विषादी सेवन तथा झुण्डिएर आत्महत्याको प्रयास गरिएको उल्लेख गरिएको छ।
लागुऔषध नियन्त्रणतर्फ ५ वटा मुद्दा दर्ता भई ९ जना प्रतिवादी पक्राउ परेका छन्। प्रहरीले ५ ग्राम २८ मिलिग्राम ब्राउन सुगर, १ सय ७८ क्याप्सुल ट्रामाडोल–५०, २५ ट्याब्लेट निट्राभेट–१० तथा ८० ट्याब्लेट निट्राजेपाम बरामद गरेको जनाएको छ।
सवारी दुर्घटनातर्फ जेठ महिनामा १२ वटा दुर्घटना भएका छन्, जसमा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना गम्भीर र ८ जना सामान्य घाइते भएका छन्। दुर्घटनाका मुख्य कारण मादक पदार्थ सेवन, तीव्र गति, सडकको अवस्था तथा यात्रुको लापरबाही रहेको प्रहरीको विश्लेषण छ।
ट्राफिक कारबाहीअन्तर्गत ५ सय १५ सवारी साधनमाथि कारबाही गरी रु. ६ लाख २१ हजार ५ सय राजस्व संकलन गरिएको छ।
अपराध न्यूनीकरणका लागि प्रहरी कार्यालयले ‘क्राइम प्याटर्न एनालाइसिस (CPA)’ कार्ययोजना लागू गर्नुका साथै अपराध प्रभावित क्षेत्र लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
समुदाय र विद्यालय केन्द्रित कार्यक्रमअन्तर्गत घरेलु तथा लैङ्गिक हिंसा, लागुऔषध नियन्त्रण, आत्महत्या रोकथाम, साइबर अपराध, मानव बेचबिखन, विपद् व्यवस्थापन, जातीय छुवाछुत तथा सामाजिक विकृति नियन्त्रणलगायत विषयमा २०१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीको प्रगति विवरणमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार जेठ महिनामा विभिन्न सेवा तथा प्रशासनिक कार्यमार्फत २ हजार ८५० जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्