काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम निर्धारण गरिएको छ।
अध्यक्ष पदका लागि २०८३ जेठ ९ गते प्रकाशित सूचनाअनुसार प्राप्त आवेदनमध्ये सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्ष नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ को दफा १२ को उपदफा (१) बमोजिम छोटो सूची (Short List) मा परेका १० जना उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन बोलाइएको हो।
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीमा हुने प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि गोविन्दप्रसाद भण्डारी, चित्रमणि बराल, नवराज सापकोटा, पुष्करराज गौतम, बुद्धिबहादुर के.सी., युवनप्रसाद आचार्य, मनोहरी पाठक, लक्ष्मण हुमागाईं, विश्वराज खनाल र छविलालबहादुर रावल छनोटमा परेका छन्।
सूचनाअनुसार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण २०८३ असार ४ गते बिहान ८ बजेदेखि विभिन्न चरणमा सञ्चालन हुनेछ। त्यसैगरी उम्मेदवारहरूको अन्तर्वार्ता २०८३ असार ५ गते बिहान ८ बजेदेखि क्रमशः सञ्चालन गरिनेछ।
उम्मेदवारहरूले आवेदनसँग पेश गरेका सम्पूर्ण कागजातहरूको सक्कल प्रति साथमा ल्याई प्रस्तुतीकरण तथा अन्तर्वार्ताको निर्धारित समयभन्दा कम्तीमा एक घण्टा अगावै उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।
सार्वजनिक बिदाको दिन परे पनि प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम यथावत् सञ्चालन हुने जनाइएको छ। अध्यक्ष नियुक्ति प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको व्यवस्था गरिएको सम्बन्धित निकायले जनाएको छ।

नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्