अध्ययन बिदा लिएर सेवामा नफर्केका शिक्षक–कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३, बुधबार १२:५८

काठमाडौं, असार ३ गते — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर नियमानुसार सेवामा नफर्केका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका प्राध्यापक र कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।


त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्केका शिक्षक–कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो।


समितिले सूचनामा उल्लेख गरेअनुसार तोकिएको १५ दिनभित्र सम्पर्कमा नआए सम्बन्धित व्यक्तिविरुद्ध प्रचलित कानुन तथा विश्वविद्यालयका नियमअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।


त्रिविले अध्ययन बिदाको दुरुपयोग नियन्त्रण गर्न तथा विश्वविद्यालयप्रति शिक्षक–कर्मचारीको दायित्व सुनिश्चित गर्न अभियान सञ्चालन गरिरहेको जनाएको छ। यस क्रममा अध्ययन बिदा लिएर सेवामा नफर्केका प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराइसकिएको विश्वविद्यालयले जनाएको छ।


विश्वविद्यालयले अध्ययन बिदासम्बन्धी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्दै भविष्यमा यस्ता अनियमितता दोहोरिन नदिन निगरानी तथा अनुगमनलाई थप कडाइ गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *