
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले वैशाखको अन्तिमसम्म संसद्बाट शिक्षा विधेयक पारित हुने भन्दै शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको छ । बुधबार प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँग सभामुखले गरेको छलफलपछि बर्तौलाले बजेट अधिवेशनबाट शिक्षकका माग पूरा हुने गरी विधेयक पारित गरिने भन्दै शिक्षकहरुलाई आन्दोलन फिर्ता लिएर नियमित कक्षा सञ्चालनमा लाग्न आग्रह गर्नुभयो ।
शिक्षकहरूमा शिक्षाप्रतिको जवाफदेहिता भएकाले आन्दोलन फिर्ता लिएर शैक्षिक गतिविधिमा जोडिनुपर्ने बर्तौलाको भनाई थियो ।शिक्षक साथीहरूलाई विश्वस्त पार्ने गरी उहाँहरूको भावनालाई पनि सम्मान गर्ने गरी काम गरिरहेका छौँ । हामीले काम गरिरहेका कुराहरूलाई पनि उहाँहरूले पनि सकारात्मक ढंगले ग्रहण गरिदिनुपर्ने अवस्था छ र त्यस आधारबाट हेर्ने हो भने उहाँहरूले नियमित शैक्षिक गतिविधिहरूमा जोडिएर अहिलेको विधायकी काम जो विधेयक निर्माणको आवश्यक यसको अंग पूरा गर्न समय दिनुपर्यो,बर्तौलाले भन्नुभयो ।
सार्वजनिक शिक्षाप्रतिको उहाँको जवाफदेहिता के छ ? उहाँहरू स्वयंले जान्नुहोस् । त्यसप्रति जवाफदेहितामा उभिनुपर्छ होला भन्ने ठान्नुहोस्, तर सरकारले उहाँहरूको न्यायोचित मागहरू पूरा गर्छ भन्ने कुरामा, समयमै विधेयक आउने कुरामा संसद्ले काम गरिरहेको छ, बर्तौलाले भन्नुभयो ।