सूर्यगढी गाउँपालिकाको १९औँ गाउँ अधिवेशन सम्पन्न, ४३ करोड ७ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ५, शुक्रबार १५:१३

नुवाकोट, असार ५ । जिल्लाकाे सूर्यगढी गाउँपालिकाको १९औँ गाउँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४३ करोड ७ लाख २० हजार रुपैयाँ बराबरको वार्षिक बजेट सर्वसम्मत रूपमा पारित गरेको छ।


गाउँपालिकाको सभा हलमा सम्पन्न अधिवेशनमा गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। सोही नीति तथा कार्यक्रमका आधारमा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बुढाथोकी (ढकाल) ले कुल ४३ करोड ७ लाख २० हजार रुपैयाँको बजेट गाउँसभामा पेश गर्नुभएको थियो।


“स्वस्थ, शिक्षित, समृद्ध, पर्यटकीय सूर्यगढी” को दीर्घकालीन सोचलाई साकार पार्ने लक्ष्यसहित तयार गरिएको नीति तथा कार्यक्रम तथा बजेटमाथि गाउँसभा सदस्यहरूबीच विस्तृत छलफल भएको थियो। छलफलपछि नीति तथा कार्यक्रम तथा बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको गाउँपालिकाले जनाएको छ।


अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
गाउँसभाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगार प्रवर्द्धन तथा प्रभावकारी सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राख्दै नीति, कार्यक्रम तथा बजेट अनुमोदन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *