ललितपुर, असार ५ – राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत सञ्चालित ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण देखिएपछि चिडियाखाना बन्द गरिएको छ।
सदर चिडियाखानाले शुक्रबार सूचना जारी गर्दै आम सर्वसाधारण तथा दर्शकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै २०८३ साल असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको हो।
चिडियाखानाले संक्रमण नियन्त्रण तथा आवश्यक स्वास्थ्य सुरक्षा उपायहरू अपनाइरहेको जानकारी दिँदै दर्शकहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा जारी सूचनामा अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना भ्रमणका लागि नआउन अनुरोध गरिएको छ।
सदर चिडियाखाना ललितपुरको जावलाखेलमा अवस्थित नेपालकै प्रमुख चिडियाखाना हो, जहाँ दैनिक ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमण गर्ने गर्दछन्।

नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्