नुवाकोट । बेलकोटगढी नगरपालिकामा हरेक वर्ष बडादसैँ तथा दीपावलीको अवसरमा आयोजना हुँदै आएको प्रतियोगिता यस वर्ष सातौँ देउराली अर्चले तथा प्रथम मेयर कप खुला फुटबल प्रतियोगिता–२०८३ आगामी कार्तिक १७ गतेदेखि सुरु हुने भएको छ।
कन्चना देउराली युवा क्लबद्वारा आयाेजना हुने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गर्ने कार्यक्रम तय भएको बेलकोटगढी नगरपालिकाका मेयरको सचिवालयले जनाएको छ। उद्घाटन समारोह २०८३ कार्तिक १७ गते हुनेछ।
त्यस्तै, प्रतियोगिताको समापन समारोह बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा कार्तिक २३ गते हुने जनाइएको छ।
हरेक वर्ष बडादसैँ तथा दीपावलीको अवसरमा आयोजना हुँदै आएको प्रतियोगितामा यस वर्ष पनि जिल्लाका प्रतिष्ठित तथा सक्रिय फुटबल क्लबहरूको सहभागिता रहने प्रतियोगिता संयोजक प्रशन्न थिङले जानकारी दिए।
प्रतियोगिताको प्रथम पुरस्कार नगद २ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले जिल्लाको खेलकुद विकाससँगै स्थानीय स्तरमा फुटबल खेलाडीको प्रतिभा पहिचान र प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्