काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको राष्ट्रिय भेलाको तयारीलाई तीव्रता दिएको छ। भेलाको तयारीबारे पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ।
बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक अवस्था, मुलुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति तथा जनजीविकासँग जोडिएका विषयमा पार्टीभित्र साझा धारणा र समान राजनीतिक लय निर्माण गर्नु भेलाको प्रमुख उद्देश्य रहेको बताए।
केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरेको उल्लेख गर्दै पौडेलले त्यसैअनुसार नेता–कार्यकर्तालाई उत्साहित र सक्रिय बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित गर्न राष्ट्रिय भेला महत्वपूर्ण हुने बताए।
उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो संगठनात्मक क्षमता र राजनीतिक प्रभाव देखाउनुपर्नेमा जोड दिए। २०८२ सालको निर्वाचनमा प्राप्त परिणामलाई अस्थायी राजनीतिक धक्काका रूपमा लिएर पार्टीलाई पुनः आफ्नो स्थापित राजनीतिक धारमा फर्काउनुपर्ने उनको भनाइ थियो।
“सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” पौडेलले भने।
बैठकमा महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई प्रभावकारी र सफल बनाउन नेता तथा कार्यकर्तालाई सक्रिय रूपमा परिचालन हुन आग्रह गरे। भेलाबाट पारित हुने सन्देशलाई पार्टीको तल्लो तहदेखि जनस्तरसम्म पुर्याउन प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने उनले बताए।
बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले भेलाको तयारीमा अहिलेसम्म भएका प्रगतिको जानकारी गराए। उनका अनुसार राष्ट्रिय भेलामा विभिन्न तह र निकायबाट गरी ३ हजार १६४ जना सहभागी हुनेछन्।
एमालेका अनुसार भेलामा ३४६ जना केन्द्रीय सदस्य, केन्द्रीय निकायबाट ८१ जना तथा आठ प्रदेश कमिटी, भारत प्रवास र प्रवासी नेपाली मञ्चबाट ५५ जना सहभागी हुनेछन्। त्यस्तै जिल्ला तहबाट ४४० जना, पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीमध्येबाट १ हजार ५०६ जना सहभागी हुनेछन्।
त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाबाट ३५ जना, प्रदेशसभा सदस्य १५५ जना, स्थानीय तहका मेयर तथा गाउँपालिका अध्यक्ष १९६ जना, उपमेयर तथा गाउँपालिका उपाध्यक्ष ३४२ जना र जनसंगठनबाट ९६ जनाको सहभागिता रहने एमालेले जनाएको छ।
एमालेले राष्ट्रिय भेलालाई पार्टीभित्रको एकता थप मजबुत बनाउने, संगठनलाई चलायमान बनाउने तथा आगामी निर्वाचन र राजनीतिक गतिविधिका लागि सम्पूर्ण पार्टी पंक्तिलाई एकीकृत रूपमा परिचालन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्