नुवाकोट । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले बेलकोटगढी नगरपालिकाका विभिन्न वडामा अधिवेशन सम्पन्न गर्दै वडा नेतृत्व तथा क्षेत्रीय प्रतिनिधि चयन गरेको छ।
नगर संयोजक सागर न्यौपानेका अनुसार बेलकोटगढी–१ मा दुर्गाप्रसाद लोहोनी (रामशरण) सर्वसम्मत वडा सभापतिमा चयन भएका छन्। सचिवमा सुरज तामाङ चयन भएका छन्। क्षेत्रीय प्रतिनिधिमा रामेश्वर लोहोनी (ठाकुर), ठाकुरप्रसाद ढकाललगायत चयन भएका छन्। अन्य पदाधिकारी तथा सदस्यहरू पार्टी विधानअनुसार गठन गरिएको जनाइएको छ।
त्यस्तै, बेलकोटगढी–४ मा ठाकुर गुरुङ (अनिल) वडा सभापति र दिनेश गुरुङ सचिवमा चयन भएका छन्। क्षेत्रीय प्रतिनिधिमा जुद्धबहादुर तामाङ, समीर तामाङ, लक्ष्मी गुरुङ, प्रदीप गुरुङ र जिते गुरुङलगायत चयन भएका छन्।
बेलकोटगढी–२ मा दिवस तिमिल्सिना सर्वसम्मत वडा सभापतिमा चयन भएका छन्। क्षेत्रीय प्रतिनिधिमा राजन न्यौपाने, हिरा लामा, विजय श्रेष्ठ, कृष सुनुवार र सुजन घतानीलगायत चयन भएको संयोजक न्यौपानेले जानकारी दिए।
वडा अधिवेशनमा नेपाली कांग्रेस बेलकोटगढीका संयोजक सागर न्यौपानेसहित बैकुण्ठबहादुर पाण्डे, बद्रीप्रसाद मुडभरी, जयराम दाहाल, शुकदेव दाहाल, पूर्णप्रसाद गजुरेल, बाबुराम तामाङ, रामहरि खनाल, राजन न्यौपाने, जुद्धबहादुर तामाङलगायत नेता तथा क्रियाशील सदस्यहरूको सहभागिता रहेको थियो।
यसैबीच, नियमित महाधिवेशन पक्षधरले भोलि हुने बेलकोटगढी नगर अधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने निर्णयसमेत गरेको छ। नगर अधिवेशनमा नगरभित्रका क्रियाशील सदस्य, प्रतिनिधि तथा नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता गराउने तयारी भइरहेको संयोजक न्यौपानेले बताए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियाअन्तर्गत वडा तथा पालिका तहका अधिवेशन सम्पन्न हुँदै आएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्