स्वर्णिम वाग्लेको विदेश मामिलासम्बन्धी अभिव्यक्तिमाथि डा लोहनीको प्रश्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ९, सोमबार १५:४६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले अर्थमन्त्री स्वर्णिम वाग्लेको विदेश मामिलासम्बन्धी पछिल्लो अभिव्यक्तिप्रति प्रश्न उठाएका छन्।

डा. लोहनीले पश्चिमी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका वाग्लेले दक्षिण एसियामा ‘मोनरो सिद्धान्त’जस्तै अवधारणाप्रति अस्वाभाविक आकर्षण देखाएको टिप्पणी गरेका छन्। उनले यस्तो अवधारणाको माग भारत सरकारका कुनै अधिकारीले अहिलेसम्म नगरेको उल्लेख गरेका छन्।

सन् १८२३ मा तत्कालीन सैन्य रूपमा कमजोर अमेरिकाले बेलायतको समर्थनमा फ्रान्स र स्पेनलाई पश्चिमी गोलार्धमा हस्तक्षेप नगर्न चेतावनी दिँदै मोनरो सिद्धान्त अघि सारेको स्मरण गर्दै लोहनीले त्यसपछि उक्त सिद्धान्त अमेरिकी विदेश नीतिको महत्वपूर्ण आधार बनेको बताएका छन्। यही सिद्धान्तका आधारमा अमेरिकाले ल्याटिन अमेरिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष हस्तक्षेप गर्दै आएको उनको भनाइ छ।

लोहनीले प्रश्न गर्दै भनेका छन्, “के यही नीति प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतका लागि प्रस्ताव गरिरहेको हो ? के वाग्लेले भारतीय विदेश नीति प्रतिष्ठानप्रति सद्भाव देखाउने नाममा यस्तो रणनीति अघि सार्न खोजेका हुन् ?”

उनले वाग्लेले यस्ता अभिव्यक्ति कसको तर्फबाट दिइरहेका छन् भन्ने विषयमा धेरै मानिस अन्योलमा रहेको पनि बताएका छन्।

लोहनीले अर्थमन्त्री वाग्लेलाई आफ्नो पहिलो प्राथमिकता अर्थ मन्त्रालयको कार्यसम्पादन सुधार गर्न र नेपालको व्यापारमा देखिएका गैर–भन्सार अवरोध हटाउन केन्द्रित गर्न सुझाव दिएका छन्। नेपालको निर्यात सामग्री सीमामै हप्तौँ वा महिनौँसम्म रोकिने अवस्था अन्त्य गर्न सरकारले देखिने गरी पहल गर्नुपर्ने उनको भनाइ छ।

“तपाईंको पहिलो नीतिगत प्राथमिकता मन्त्रालयको कार्यसम्पादन सुधार्नु र नेपालको निर्यातलाई सीमामा हप्तौँ वा महिनौँसम्म रोकिन नदिने गरी व्यापारमा रहेका गैर–भन्सार अवरोध घटाउनु हुनुपर्छ,” लोहनीले भनेका छन्।

विदेश मामिलामा अर्थमन्त्री वाग्लेको पछिल्लो सक्रियता आफूलाई अर्थपूर्ण नलागेको टिप्पणी गर्दै लोहनीले यस्तो कदमभन्दा पहिले अर्थ मन्त्रालयको जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *