नुवाकोट । भोटेकोशी–त्रिशूली बाढीपीडितको पुनर्निर्माण, पुनर्वास तथा राहतका विषयमा सरकारलाई दबाब दिन नुवाकोटमा ‘भोटेकोशी–त्रिशूली बाढीपीडित सरोकार समिति’ गठन गरिएको छ।
मंगलबार विदुर भएको सराेकारवाला समुहको छलफलबाट सूर्यबहादुर कँडेलको संयोजकत्वमा ३३ सदस्यीय समिति गठन गरिएको हो। समितिको सहसंयोजकमा सुरेन्द्रराज केसी, रामहरि अधिकारी र अष्टमान श्रेष्ठ रहेका छन्। त्यस्तै सचिवमा नविन्द्रमान प्रधान, सहसचिवमा किरण अधिकारी र कोषाध्यक्षमा शम्भु सिग्देल चयन भएका छन्।
समितिका सदस्यहरूमा नारायण श्रेष्ठ, महेन्द्र श्रेष्ठ, सुदीप अधिकारीलगायत रहेका छन्। त्यस्तै सल्लाहकार समितिमा पूर्वसांसद नारायण खतिवडालगायत उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूलाई समेटिएको छ।
समितिले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रका पीडितका समस्या पहिचान गरी सम्बन्धित पक्षसँग छलफल गर्ने र पुनर्निर्माण तथा पुनर्वासको काम शीघ्र अघि बढाउन सरकारलाई दबाब सिर्जना गर्ने जनाएको छ।
बाढीपछि सरकारले घोषणा गरेका राहत तथा पुनर्निर्माणका काममा ढिलासुस्ती भएको, कतिपय वास्तविक पीडितले अझै राहत पाउन नसकेको तथा दीर्घकालीन रूपमा पुनर्वासको समस्या सबैभन्दा चुनौतीपूर्ण बनेको समितिको भनाइ छ।
समितिले प्रभावित क्षेत्रमा पुगेर पीडितका वास्तविक समस्या संकलन गर्ने र त्यसलाई सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्ने तयारीसमेत गरेको छ। यसका लागि प्रभावित वडाहरूमा वडा तहका सरोकार समिति गठन गर्ने निर्णय गरिएको छ।
भोटेकोशी बाढीबाट नुवाकोटका बेत्रावती, त्रिशूली, ढुंगे, देवघाट, महादेवफाँटलगायतका क्षेत्र प्रभावित भएका थिए। बाढीका कारण घर, व्यवसाय, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको भए पनि पुनर्निर्माण र पुनर्वासको काम अपेक्षित गतिमा अघि बढ्न नसकेको पीडितहरूको गुनासो छ।
नवगठित समितिले राहत वितरणमा देखिएका समस्या, क्षतिको उचित मूल्यांकन, पुनर्निर्माणको गति र प्रभावित परिवारको पुनर्वासलाई मुख्य एजेन्डा बनाएर सरकार तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय र दबाबमूलक कार्यक्रम अघि बढाउने जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्