
काठमाण्डौ – काठमाण्डौ भित्रिने सडकको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि १५ दिन दिउँसो साढे ४ घण्टा बन्द हुँदैछ । सडक बन्द गरेर निर्माण कार्य गरिने भएको छ ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाण्डौ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा आजदेखि आउँदो २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिनुभयो । यसअघि यो खण्ड रातमा बन्द गरेर काम हुँदै आएको थियो ।
आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा काम गर्न अनुमति दिइएको हो ।
निर्माण आयोजनाले प्राविधिक रुपमा निर्माण कार्य दिउँसो नै गर्नुपर्ने भनेपछि, त्यसका लागि अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर काठमाण्डौबाट छुट्ने गाडी नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाण्डौतर्फ आउनेलाई खानीखोलामा रोकिने जनाएको छ ।
सडकमा काम हुने समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।