
विदुर । विगत वर्षहरुदेखि उत्कृष्ट नतिजा ल्याउन सफल रहँदै आएको नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं २ विदुरमा रहेको सामुदायिक विद्यालय पृथ्वी माध्यमिक विद्यालयले यस वर्षदेखि कक्षा ११ पनि सञ्चालन गर्ने भएको छ ।
विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेका अनुसार यस वर्षदेखि कक्षा ११ मा विज्ञान संकाय सञ्चालन गर्ने तयारी गरिएको छ । यस वर्षको एसईईमा समेत सामुदायिक विद्यालयतर्फ जिल्लामा उत्कृष्ट नतिजा ल्याउने सफल भएको उक्त विद्यालयले कक्षा ११ सञ्चालन गर्ने तयारी गरेसँगै अभिभावक तथा स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।स्मरणीय छ पृथ्वीबाट यो वर्ष ९१ जना विद्यार्थीले परीक्ष दिएकामा ९० जना ग्रेडेड भएका छन् ।
धेरै विद्यार्थीहरुमा साइन्स पढ्ने लहर देखियो उनीहरुलाई राजधानीसम्म जाने र खर्च गराउने भन्दा हामीले यहीबाट कक्षा सञ्चालनको तयारी गरेका छौं, प्रधानाध्यापक लामिछानेले नुवाकोट पुकारसँग भन्नुभयो । उहाँले विद्यालयमा अनुभवि र दक्ष शिक्षकहरु रहेकाले विद्यार्थीहरुले खोजेको गुणस्तर प्रदान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
विज्ञान विषयका लागि चाहिने आवश्यक भौतिक संरचनासहितका प्राविधिक विषयहरु तयारी अवस्थामा रहेको भन्दै प्रअ लामिछानेले जिल्लामा विज्ञान पढ्न चाहानेहरुका लागि सहज हुने पनि बताउनुभयो ।