
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समिति गठन भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानविन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको हो ।
सभामुख देवराज घिमिरले गर्नुभएको विशेष समिति गठनको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । समितिमा कांग्रेसबाट सांसदहरु जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहनुभएको छ भने समितिको संयोजकमा सांसद जीवन परियार तोकिनुभएको छ ।
निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न विशेष समितिलाई २१ दिनको समय दिइएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
समितिको प्रतिवेदनमा छेडखानी गर्ने काममा कसैको संलग्नता देखिए प्रचलित कानून बमोजिम कारवाही पर्नुपर्ने वा नपर्ने भन्ने सुझाव दिने कार्यादेश विशेष समितिलाई दिइएको उनले बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखिएको थियो । तर प्रतिनिधिसभा बैठकबाट विधेयक पारित हुँदा कुलिङ पिरियडमाथि छेडखानी भएको पाइएपछि बिभिन्न दलका सांसदहरुले छानविन गरि दोषिलाई कारवाही गर्नुपर्ने माग गरेका थिए ।