
नुवाकोट पुकार समाचारदाता
साउन १२ सोमबार हेटौडा । नेपाली कांग्रेसको बागमती प्रदेशको विवाद मिलाउने प्रयास जारी रहेको नेताहरुले बताएका छन् । पार्टीको तर्फबाट केन्द्रीय प्रतिनिधिका रुपमा हेटौँडामा रहनु भएका केन्द्रीय सदस्य राजन केसीले अहिले दुवै नेतासँग छुट्टाछुट् छलफल गरिरहनु भएको छ । जसका कारण १ बजेका लागि तय भएको बैठक यो समाचार तयारपार्दासम्म सुरु हुन सकेको छैन। पहिला दुवै नेताको धारणा लिने र त्यसपछि संयुक्त छलफल गर्ने तयारी गरिएको भएपनि त्यो भने सम्भव भएको छैन् ।
एक पक्षले अर्कोपक्षसँग बसेर कुराकानी गर्ने वातावरण अझै तयार भएको देखिदैन, कांग्रेस बागमती प्रदेशसभाका एक सदस्यले नुवाकोट पुकारलाई बताए । उहाँले संयुक्त रुपमा सँगै राखेर छलफल गर्न खोज्नु भएको छ अझै कुरा मिलिसकेको छैन्, त्यहि भएर औपचारिक बैठक अनिश्चित बनेको छ, ति सदस्यले भने ।
केन्द्रीय प्रतिनिधिले एक्लाएक्लै भने कुरा गरिसक्नु भएको छ । दुवै पक्षका आआफ्ना अडान राखेका छन् । प्रदेश सदस्यहरुसँग पनि केसीले छलफल गर्नुभएको छ । तर संयुक्त रुपमा राखेर विवाद समाधान गर्ने प्रयास भने अलि लामै जाने देखिएको छ ।
मुख्यमन्त्री लामाले भने आर्थिक मामिला तथा योजना मन्त्री कुन्दराज काफ्ले स्वदेशमा नभएकाले केही दिन बैठक सार्नुपर्ने प्रस्ताव गर्नुभएको छ । आफ्नो प्रस्ताव असफल हुने र संसदीय दलमा टुंगो लगाउने प्रक्रियामा गएपनि लामाले भने एमाले र माओवादीको समर्थन लिएर कोशी प्रदेशको नजिर अनुसार मुख्यमन्त्रीमा रहने आफ्ना विकल्प समेत तयार राखेको उहाँ निकट रहेका एक प्रदेश सदस्यले नुवाकोट पुकारलाई बताए । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको नजिर अनुसार आफूलाई मुख्यमन्त्रीबाट हटाउन नसक्ने उनको निष्कर्ष छ ।
आफूलाई अपमानजनक रुपमा हटाउने प्रयास भए प्रदेशसभा विघटनसम्म गर्न सक्ने संवैधानिक अधिकारप्रति समेत लामाले पार्टीका नेताहरुलाई जानकारी गराएको बुझिएको छ । लामा पक्षका सांसदहरु प्रक्रिया लम्ब्याउने कसरतमा लागेको भन्दै बानियाँ पक्षले भने प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै संसदीय दलका सचिवमार्फत दवाव बढाइरहेका छन् । कुल ११० सदस्य रहेको प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन् । जसमा लामाको विपक्षमा २१ जनाले हस्ताक्षर गरेका छन् । बहुमतका लागि १९ सदस्य आवश्यक पर्छ भने काफ्ले देश बाहिर रहेको भएपनि बहुमतका लागि १९ कै आवश्यक पर्ने देखिन्छ ।