
२४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लिने विश्वासको मतको पक्षमा मतदानका लागि तीन बुँदे ह्वीप जारी गरेको छ ।
ललितपुर भैंसेपाटीस्थित मुख्यमन्त्री निवासमा आज दिउसो बसेको कांग्रेस संसदीय दलको बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । बैठकले अनिवार्य उपस्थित हुने, तटस्थ नबस्ने र विश्वासको मतको पक्षमा मत दिने भन्दै तीन बुादै ह्वीप जारी गरेको हो ।
२७ साउनमा मुख्यमन्त्री बानियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मतका लागि प्रदेशसभा सचिवालयले दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिसकेको छ ।
उता निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षले भने आफूहरुसँग भएको सहमति कार्यान्वयन नभएको असन्तुष्टि व्यक्त गर्दै विश्वासको मत लिनु अघि नै सहमति कार्यान्वयन गर्न आग्रह गरेको छ । लामा पक्षीय सांसदहरुको आज राजधानीमा बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको सहमति कार्यान्वयन नभए प्रदेश सदस्यबाट नै राजीनामा दिने चेतावनी समेत दिएका छन् ।
उनीहरुले सो विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई समेत जानकारी गराउने तयारी गरेको बैठकमा सहभागि एक सदस्यले नुवाकोट पुकारलाई जानकारी दिए ।