
साउन २६ सोमबार,काठमाडौं । बागमती प्रदेश सभा अन्तर्गत नेपाली कांग्रेस संसदीय दलको विवाद फेरि पार्टी सभापति शेरबहादुर देउवाकोमा पुगेको छ । संसदीय दलका पूर्वनेता तथा पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले पूर्वसहमति अनुसार मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले कार्यान्वयन नगरेको भन्दै सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।
लामासहित उनी पक्षका ९ जना सांसदले आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरेको लामा पक्षका सांसद गोविन्द लम्सालले जानकारी दिनुभयो ।
मुख्यमन्त्री पदबाट राजीनामा दिनु अघि लामाले राखेको सर्त कार्यान्वयन हुनुपर्ने विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको लम्सालले जानकारी दिनुभयो । पूर्वमुख्यमन्त्रीले उठाएका माग सम्बोधन गर्न र मुख्यमन्त्री बानियाँलाई एक ढिक्का भएर विश्वासको मत दिन पार्टीभित्रका दुवै पक्षलाई सभापति देउवाले निर्देशन दिएको कांग्रेस सांसद हरिप्रभा खड्कीले नुवाकोट पुकारलाई जानकारी दिईन् ।
आफ्ना माग सम्बोधन नभए सांसद पदबाट सामूहिक राजीनामा दिने कुरा सभापतिलाई जानकारी गराएका थिए । नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । त्यसअघि नै आफ्ना माग सम्बोधन हुनुपर्ने पूर्वमुख्यमन्त्री लामाको भनाइ छ । लामाले आफ्ना पक्षका तीन जनलाई मन्त्री बनाइनुपर्ने सर्त राखेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनु अघि नै ती तीन जनालाई शपथ गराउनुपर्ने आफूहरूको बटम लाइन रहेको उनी पक्षका सांसद लम्सालले प्रस्ट पारे ।
सभापति देउवाबाट पूर्वसहमति पालना हुने र माग सम्बोधन गर्ने विषयमा सकारात्मक जबाफ प्राप्त भएको लम्सालले बताउनुभयो । मुख्यमन्त्री बानियाँ र पूर्वमुख्यमन्त्री लामालाई सँगै राखेर सहमति कार्यान्वयन गराउने प्रतिबद्धता सभापति देउवाले जनाएको लम्सालले बताए ।
सभापति देउवाले बानिायँलाई राखेर पूर्वसहमति कार्यान्वयन गर्न लगाउने बताउनुभएको छ, सहमति कार्यान्वयन भए हामी वर्तमान सरकारलाई सहयोग गर्न तयार छौं लम्सालले भने । उनका अनुसार सभापति देउवाले विश्वासको मत दिने तयारी गर्नु, सहमति पालना हुन्छ भनेर लामा पक्षका सांसदलाई पठाएका छन् ।
पूर्वमुख्यमन्त्री लामाले आफ्नो कोटाबाट गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन् । सोही सर्त राखेर उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । पार्टी सभापति देउवाको उपस्थितिमा भएको सहमति कार्यान्वयनमा मुख्यमन्त्री बानियाँ उदासीन रहेको भन्दै लामा पक्षले विश्वासको मत नदिने चेतावनी दिँदै आएको थियो ।