
विदुर । नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका वडा नम्बर २ तारुकाबेसी स्थायी निवासी दीपक अधिकारीले नुवाकोट जिल्लाको एकमात्र प्रतिष्ठान देबिघाट जेष्ठनागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका लागि दुधालु गाई दान गरेका छन् ।
हाल क्यानडामा बसोबास गर्ने अधिकारीले उक्त प्रतिष्ठानमा रहेका वृद्धवुद्धाहरुलाई सफा स्वच्छ दूध उपलब्ध गराउने उद्देश्य र आवश्यकतालाई ध्यान दिँदै अधिकारीका पिताजी केशव अधिकारीले एक उन्नत जातको पहिलो बेत ब्याउने गाई दान गर्नुभएको प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले जानकारी दिनुभयो एकलाख पर्ने उक्त गाईले ब्याएपछि दैनिक १० लिटरसम्म दुध दिने प्रतिष्ठानले जनाएको छ । उक्त गाई तारकेश्वर भमरा निवासी ईश्वर अर्यालसँग एक लाखमा खरिद गरी आश्रम परिसरमा अध्यक्ष विष्णुप्रसाद नेपाललाई हस्तान्तरण गरिएको प्रतिष्ठानले जनाएको छ ।
नुवाकोट जिल्लामा रहेको उक्त प्रतिष्ठानमा २५ जना जेष्ठ नागरिकहरुले आश्रय लिदै आएको जनाइएको छ । जिल्लाको एकमात्र सुविधासम्पन्न प्रतिष्ठान निर्माण तथा संरक्षणका लागि नेपाल सरकार,स्थानीय तह लगायतका अन्य सरकारी , गैर सरकारी तथा व्यक्तिगत रुपमा सहयोग रहँदै आएको छ ।