
फाइल तस्बिर
काठमाडौँ उपसभामुख इन्दिरा रानामगरलाई हटाउने बारे छलफल गर्न सत्ताधारी दुई दलको बैठक सुरु भएको छ । एमालले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान बोलाइएको आकस्मिक बैठकमा प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने विषयमा छलफल हुन लागेको एक नेताले पुष्टि गरे । यस्तै नेपाली कांग्रेसले पनि पदाधिकारी बैठक बोलाएको छ ।
बैठक सकिएलगत्तै उसले आफ्ना सांसदहरुलाई सिंहदरबार बोलाएको छ ।सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ ।बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो ।
संसदीय दलको बैठकमा जाँदै गरेका एक नेताले भने, हामीलाई आकस्मिक बैठकमा आउन पर्यो भनेर बोलाइयो । छलफलको एजेन्डा भने त्यहीँ पुगेपछि थाहा होला । उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको आरोप दुई दलको छ ।
स्रोतका अनुसार उपसभामुखविरुद्धको प्रस्तावमा कांग्रेस र एमालेका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ । केही सांसदले भने हिजै हस्ताक्षर गरिसकेका छन् ।