
बेलकोट । नुवाकोट जिल्लाको नौ कोटमध्ये प्रशिद्ध मानिएको बेलकोटगढीमा सामूहिक जमरा राखिएको छ ।
असोज ६ गते घटस्थापनाका दिन नव–निर्मित जमराघरमा एक विशेष कार्यक्रमको आयोजना गरि जमरा राखिएको बेलकोटगढी वडा नं १० का वडा अध्यक्ष प्रल्हाद थपलीयाले जानकारी दिनुभयो । नगरपालिकाका मेयर जगतबहादुर लामा,उपप्रमुख शिवप्रसाद दाहालको समेत उपस्थिति तथा वडा अध्यक्ष थपलियाको सहभागितामा जमरा राख्दैे बेलकोटगढी निरन्जना मन्दिर परिसर सरसफाई अभियानमा सञ्चालन गरिएको थियो ।
बाजागाजासहित स्थानीयहरुको उपस्थितिमा जमरा राखिएको थियो । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदै आएको इतिहासमा उल्लेख गरिएको छ । सोही परम्परा अनुसार यो वर्ष पनि विभिन्न जाती र समुदायले सामूहिक जमरा राख्ने धार्मिक परम्परालाई निरन्तरता दिएको वडा अध्यक्ष थपलीयाले जानकारी दिनुभयो ।
अध्यक्ष थपलीयाका अनुसार वितगमा जस्तै यो वर्ष पनि ब्रामण, क्षेत्री, आदिवासी–जनजाती र दलित जातीका विभिन्न थरका झण्डै तीन सय परिवारले एकै स्थानमा जमरा राखेका छन् । नुवाकोट नामकरणका नौ कोटमध्येको प्रमुख कोट बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् बैद्धिक सनातन परम्पराको लागि महत्वको रुपमा लिइन्छ । यहाँ अवस्थित निरञ्जना भगवती मन्दिर प्रसिद्ध एवम् पौराणिक शक्तिपीठको रुपमा देशभर परिचित रहेको छ । बडादसैँ पर्वको अवसरमा काठमाडौँ हनुमानढोकाको बैद्धिकविधि अनुसार नै यहाँको मन्दिरमा गरिने पूजाआरधना र जमरा राख्ने परम्परा एउटै रहेको वडा अध्यक्ष थपलीयाको भनाई रहेको छ ।
समुन्द्री सतहबाट करिब दुईहजार दुईसय मिटरको उचाईमा रहेको बेलकोटगढीलाई रणनीतिक एवं सामरीक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ ।
तत्कालीन बडामहाराजधिराज पृथ्वीनारायण शाहले बाइसे चौविसे राज्य एकीकरणको सिलसिलामा विक्रम सम्बत १८०१ मा नुवाकोट आक्रमण पश्चात तत्कालीन राजा जयन्त राना बेल्कोटआई शासन गरेको र युद्दको क्रममा यस गढीको निर्माण गरेको इतिहासमा उल्लेख छ । गढीको पर्खाल पृथ्वीनारायण शाह र उनका सैन्य समूहले एक रातमा नै निर्माण गरेको र गढीमा प्रयोग गरेको ढुंगा गढीबाट करिव एक किलोमिटर तल ढुङेखानी तथा आसपासका क्षेत्रहरूबाट ल्याइएको स्थानियहरूले बताउने गरेका छन् ।
यस्तै नुवाकोट जिल्लाकै अन्य कोटहरुमा पनि जमरा राखिएको छ । नुवाकोट जिल्लाकै दुईपिपलास्थित कोटथोकमा पनि जमरा राखिएको छ । धार्मिक विधि अनुसार जमरा राखिएको स्थानीय विनोद भण्डारीले बताउनुभयो ।