
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक आज काठमाडौंमा बोलाउनुभएकाे छ। बैठक ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा दिउँसो १ बजेका लागि तय गरिएको छ।
बैठकमा यही असोज २६ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गर्नेबारे छलफल हुने नेताहरूले जनाएका छन्।
भदौ २३ र २४ गते आयोजित जेनजी युवा आन्दोलनपछि सभापति देउवाले पहिलो पटक पदाधिकारीको औपचारिक बैठक बोलाउनुभएकाे हाे । आन्दोलनको दोस्रो दिन, भदौ २४ मा बुढानीलकण्ठस्थित देउवाको निवासमा आगजनी र तोडफोडसँगै देउवा र उहाँकी पत्नी आरजु राणा देउवामाथि कुटपिट भएको थियो।
निवास क्षतिग्रस्त भएपछि देउवा दम्पती हाल ललितपुरमा बस्दै आइरहनु भएकाे छ। यद्यपि, उहाँहरू हाल बसोबास गरिरहेको स्थानबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।यसैबीच आज बस्ने पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।कांग्रेस पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरको एक होटलमा बस्दैछ । सभापति देउवा सहभागी नहुने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बस्न लागेको हो ।