
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अधि सारेका छन् , आज पार्टी कार्यालयमा बसेको पदाधिकारी तथापूर्व पदाधिकारी समेत सम्लित बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन् । महामन्त्री थापाले नियमित महाधिवेशन गर्न नसके मात्रै विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ । महामन्त्री थापाले भने, ‘मंसिरमा नियमित महाधिवेशन गर्न सकिन्छ । नियमित नहुने हो भने विशेष महाधिवेशन गरौं ।’ महामन्त्री थापाले आफूले वर्तमान कार्यसमितिको म्याद थप गर्ने प्रस्ताव नल्याउने समेत बताए ।
केन्द्रीय समितिको अवधि नथप्ने निर्णयले सभापति देउवाको मात्रै बर्हिगमन नभएर सबैको हुने थापाको भनाई थियो । । उनले थपे, ‘सभापतिको मात्रै बर्हिगमन होइन । केन्द्रीय समितिको अवधि नबढाएपछि हामी सबैको पद जाने हो ।’कांग्रेस विधान अनुसार एक वर्ष अवधि थप्न सकिने व्यवस्था छ ।
वर्तमान समितिको अवधि थप्ने अधिकार केन्द्रीय समितिलाई छ ।एक वर्ष थप्नै नहुने पक्षमा उभिएका महामन्त्री थापाले भने, ‘यो समितिको अवधि थप्ने गरी मैले प्रस्ताव केन्द्रीय समितिमा लान्न ।’ केन्द्रीय समितिको बैठक असोज २६ गतेका लागि बोलाइएको छ ।केन्द्रीय समितिबाट कार्यतालिका पारित गरेर मंसिरमा १५ औं महाधिवेशन गर्न सकिने उनले बताए ।‘२०७२ सालमा पनि महाधिवेशन छिटो सक्ने गरी कार्यतालिका बनाएर गरेका हौं । अहिले पनि सकिन्छ,’ महामन्त्री थापाले भने नियमित महाधिवेशन गर्न सकिँदैन भन्ने हो भने विशेष महाधिवेशन गर्नुपर्ने थापाले बताए ।