
विदुर । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकाका दिपक भेटुवाल आफ्ना एक छोरा र एक छोरीसहित सम्पर्कविहिन भएका छन् । दिपक भेटवालाका काका नमराज भेटवालले दिनुभएको जानकारी अनुसार दिपक छोरी सुस्मिता भेटवाल, छोरा युनिक भेटवाल र नजिकै रहेकी एक छिमेकी जानकी तामाङकासाथ हिजोदेखि सम्पर्कविहिन भएका छन् ।
घरमा श्रीमतीलाई छाडेर उनले आफूले चिनेजानेको ट्याक्सीमा गल्छीसम्म पुगेको पत्ता लागेको काका नमराजले बताए । उनले बुधबार मात्रै बैंकबाट पाँच लाख निकालेको रहस्य पनि खुलेको छ । यस्तै उनले केही दिनअघि पनि एक लाख निकालेको बैंक स्टेटमेन्टबाट पत्ता लागेको उनका काकाले बताए ।
काका नमराजका अनुसार उनको खोजी गर्दै जानेक्रममा गल्छीसम्म पुगेका र त्यहाँबाट भैरहवा जाने गाडी खोजिरहेको भन्नेसम्म जानकारी प्राप्त भएको छ । भैरहवा जान लागेको जानकारी पाएसँगै प्रहरी नाकाहरुमा जानकारी गराइएको भएपनि हालसम्म पत्ता लाग्न नसकेको बताइएको छ ।
उनका परिवार तथा आफन्तजनले खोजीका लागि समेत अपिल गरेका छन् । साथै कसैले देखेका ९८५१०७१०६५ मा खबर गरिदिन समेत आग्रह गरेका छन् । घरमा श्रीमतीलाई कुनै जानकारी नगराई छोरा छोरीसहित हिड्नुको कारण भने हालसम्म पत्ता लगाउन नसकिएको काका नमराजले बताए ।पाका उमेरका छोरा छोरीसहित हिडेकाले कतै बस्ने गरि गएको अनुमान गर्न सकिने छिमेकीहरुले बताएका छन् ।