
काठमाडौँ — काठमाडौँमा विभिन्न समूहले शनिबार आयोजना गर्ने भनिएको मोटरसाइकल र्याली, सभा र प्रदर्शनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । असोज २५ गते शनिबार नेकपा एमाले निकट युवा संघले मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ— ‘फरक–फरक समूहहरूले मिति २०८२ असोज २५ गते शनिबारका दिन काठमाडौँ जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली तथा सभा गर्ने सूचना प्राप्त भएको छ ।
यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि र्याली, प्रदर्शन, जुलुस वा सभा गर्न कोही कसैलाई स्वीकृति प्रदान नगरिने निर्णय गरिएको छ ।’गत भदौ २३ गतेको जेन–जेड आन्दोलनपछि तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुगेका घटनालाई स्मरण गर्दै प्रशासनले शान्ति–सुरक्षा कायम राख्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न यस्तो निर्णय गरेको जनाएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ९क० र प्रहरी ऐन २०१२ को दफा १९ बमोजिम पूर्वस्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रम नगर्न नगराउन सबैलाई आग्रह गरिएको छ ।