
काठमाडौँ , माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु र वाईसीएलका तालिमप्राप्त दस्ता खटिएको छ । गृह मन्त्रालयले दाहालको सुरक्षार्थ टोलीमा कटौती गरेपछि पूर्व लडाकू र वाईसीएल खटिएको माओवादी नेता रामप्रसाद सापकोटाले समाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘सरकारले विस्तृत शान्ति सम्झौताको मर्मविपरीत अध्यक्षको सुरक्षाकर्मी फिर्ता गरेपछि पूर्व जनमुक्ति सेना, वाईसीएल सदस्यको व्यवस्था भएको छ,’ सापकोटाले भनेका छन् , ‘अध्यक्षको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले विशेष सुरक्षाकर्मी खटाएको थियो ।’
तत्कालीन सरकारले माओवादी शान्ति प्रक्रियामा आएपछि सुरक्षा थ्रेट उच्च रहेको भन्दै विशेष व्यवस्था गरेको थियो । त्यसयता दाहालको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुँदै आएका थिए ।
हाल दाहालको सुरक्षामा पछुवा गाडीसहित पूर्वलडाकु खटिएका छन् । सेना समायोजन भएपछि पूर्व लडाकुहरुले स्वेच्छिक अवकाश लिएका थिए । त्यसमध्येबाट छनोट गरी अध्यक्षको सुरक्षामा खटाइएको छ,ु सापकोटाले भनेका छन् । दाहालका ३४ सुरक्षाकर्मी फिर्ता भएका छन् । उनको सुरक्षामा ५२ सुरक्षाकर्मी खटिँदै आएका थिए । अब दाहालसँग १८ सुरक्षाकर्मी रहेका छन् ।