स्वास्थ्य सेवा नरोक्न अस्पताललाई सरकारको निर्देशन, स्वास्थ्यकर्मीमाथिको आक्रमणमा कानुनी कारबाही अघि बढेको जानकारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १२, मंगलवार १०:५७

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका सबै अस्पताललाई स्वास्थ्य सेवा अविच्छिन्न रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ।


मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत स्वास्थ्य सेवा अत्यावश्यक र जीवनरक्षक सेवा भएकाले कुनै पनि परिस्थितिमा उपचार सेवा प्रभावित हुन नहुने स्पष्ट पारेको हो। साथै, घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया सम्बन्धित निकायबाट अघि बढिरहेको जानकारी पनि दिएको छ।


मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका आक्रमणका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।


नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।


मन्त्रालयले स्वास्थ्यकर्मीलाई सुरक्षित, सम्मानजनक र भयमुक्त वातावरणमा सेवा दिने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उपचार सेवामा कुनै अवरोध नआउने वातावरण बनाउन सबै अस्पताल र सरोकारवालासँग आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *