धार्मिक तथा साम्प्रदायिक द्वन्द्व तत्काल समाधान गर्न श्रम संस्कृति पार्टीको अपिल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १५, शुक्रबार ०९:५५

काठमाडौं । श्रम संस्कृति पार्टीले देशमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न अपिल गरेको छ।


पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङद्वारा जारी विज्ञप्तिमा शान्ति नै सुख र खुसीको आधार भएको उल्लेख गर्दै एकले अर्कालाई सम्मान गरेर मात्रै देशमा शान्ति र जीवनमा सकारात्मक परिवर्तन सम्भव हुने बताइएको छ।


नेपाल सबै नेपालीको साझा देश भएकाले सबै धर्म मान्ने नागरिकको अधिकार सुनिश्चित हुनुपर्ने पार्टीको धारणा छ। त्यसका लागि सबै धर्म र धार्मिक आस्थाबीच उच्च सहिष्णुताको अवस्था कायम हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।


श्रम संस्कृति पार्टीले सबै धर्मप्रति उच्च सम्मान राख्दै कुनै धर्मलाई नजिक वा टाढाको दृष्टिले नहेर्ने स्पष्ट पारेको छ। सबैलाई समान रूपमा नजिकको ठान्दै सम्मान गर्ने पार्टीको नीति रहेको जनाइएको छ।


हाल मुलुकमा देखिएको धार्मिक तथा साम्प्रदायिक द्वन्द्व समाधानका लागि सबै पक्ष मिलेर तत्काल समाधानको बाटो खोज्नुपर्ने पार्टीले जनाएको छ। त्यसका लागि राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षले सकारात्मक मनस्थिति र प्रतिबद्धताका साथ संवाद तथा सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ।


विज्ञप्तिमा सरकारले पनि यस विषयमा प्रमुख भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्न श्रम संस्कृति पार्टी सधैँ तयार रहेको जानकारी गराइएको छ।
साथै, कुनै पनि माध्यमबाट परिस्थितिलाई थप बिगार्ने किसिमका अभिव्यक्ति नदिन पार्टीले सबैसँग हार्दिक अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *