कांग्रेस उपसभापति शर्मा चीन भ्रमणमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १९, मंगलवार ११:२९

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा चीन गएका छन्। सोमबार राति शर्मा चाइना साउथन एयरलाइन्सबाट गोञ्जाओ (ग्वाङझाउ) गएका छन्।

नेपाली कांग्रेस फुटको संघारमा पुगिरहेको बेला कांग्रेसका प्रभावशाली नेता चीन जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पूर्वसभापति शेरबहादुर देउवा स्वयं ‘जेन–जी’ आन्दोलनपश्चात् स्वदेशमा छैनन्।

कांग्रेस सभापति गगन थापा पक्ष पार्टी एकताका पक्षमा नदेखिएको भन्दै संस्थापन पक्षले साउनको अन्तिममा राष्ट्रिय भेलाको आयोजना गरेको छ। पार्टीभित्र बढ्दो ध्रुवीकरण, क्रियाशील सदस्यता विवाद, महाधिवेशनको तयारी र नेतृत्वको उत्तराधिकारीलाई लिएर संस्थापन र इतर समूहबीचको शक्ति संघर्षले पार्टीलाई फुटको डिलमा पुर्‍याएको छ।

पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा संगठन निर्माण, सत्ता सञ्चालन र गुट व्यवस्थापनमा असाधारण क्षमता देखाएका देउवासँग निकट रहेर राजनीतिमा सँगसँगै हिँडेका सहकर्मीहरू पनि अहिले उनकै टिममा रही इतर पक्षको बागडोर सम्हालेर बसेका छन्।

पार्टी एकताका नाममा हालको संस्थापन थापा पक्षले ‘अल्मल्याउने’ मात्रै काम गरेको भन्दै देउवा-कोइराला पक्षीय नेताहरूले नयाँ पार्टी गठनको तयारी गरिरहेका बेला शर्मा चीन पुगेका हुन्। औपचारिक सरकारी र पार्टीगत टोलीको नेतृत्व नगरी शर्मा व्यक्तिगत निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्। स्रोतका अनुसार उनले चीनमा राजनीतिक भेटवार्तासमेत गर्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *