नुवाकोट । इलाका प्रशासन कार्यालय सातबिसेले सेवाग्राहीमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै शारीरिक रूपमा अपाङ्गता भएका एक नागरिकलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको छ।
तादी गाउँपालिका–५ निवासी शारीरिक रूपमा अपाङ्गता भएका सुधांशु राईलाई इलाका प्रशासन कार्यालय सातबिसेको टोलीले उहाँकै निवासमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
कार्यालयकी प्रशासकीय अधिकृत साबित्रा भण्डारी नेतृत्वको टोलीले सहज रूपमा कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई घरदैलोमै पुगेर सेवा प्रदान गर्ने अभियानअन्तर्गत उक्त सेवा उपलब्ध गराएको जनाएको छ।
घरमै नागरिकताको प्रमाणपत्र पाएपछि सुधांशु राई तथा उहाँका परिवारले खुशी व्यक्त गर्दै प्रशासन कार्यालयप्रति आभार प्रकट गरेका छन्।
इलाका प्रशासन कार्यालय सातबिसेले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अन्य विशेष अवस्थाका सेवाग्राहीलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले आवश्यकताअनुसार घरदैलोमै पुगेर सेवा प्रवाहलाई निरन्तरता दिँदै आएको जनाएको छ।
स्थानीयवासीले यस प्रकारको सेवाले अपाङ्गता भएका व्यक्तिहरूको राज्यका सेवा तथा सुविधामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्