स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र, तिहारअघि सञ्चालनमा ल्याउने तयारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ९, आईतवार १०:३५


रसुवा । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त सडक सम्पर्क पुनःस्थापित गर्न रसुवाको स्याफ्रुबेँसीमा सवारीसाधन सञ्चालन गर्न मिल्ने बेलिब्रिज निर्माणको काम तीव्र पारिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा पुल निर्माण तथा अन्य आवश्यक पूर्वाधारको काम अघि बढाइएको हो।


शनिबार प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले स्याफ्रुबेँसी क्षेत्रमा भइरहेको निर्माण कार्यको स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो।


गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जिल्ला सदरमुकाम धुञ्चेबाट स्याफ्रुबेँसी जोड्ने पक्की पुल बगाएपछि सोही स्थानमा वैकल्पिक पुल निर्माण गर्न लागिएको हो। बेलिब्रिज जडानका लागि आवश्यक जग निर्माणको काम सुरु भइसकेको प्रशासनले जनाएको छ।


यातायात आवागमनलाई छिटो सहज बनाउने उद्देश्यले तिहारअघि नै बेलिब्रिज सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। सोहीअनुसार निर्माण कार्य चौबिसै घण्टा सञ्चालन भइरहेको जनाइएको छ।


यसैबीच, बाढीपछि अवरुद्ध बनेको स्याफ्रुबेँसी–बृद्धिम सडकखण्डमा पैदल आवतजावत सहज बनाउन फड्के पुल निर्माणको काम पनि अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालयले आवश्यक फलामे लट्टे अर्थात् स्टिल केबललगायतका सामग्री उपलब्ध गराएपछि फड्के पुल निर्माणले गति लिएको हो।


पुल निर्माण सम्पन्न भएपछि बाढीका कारण प्रभावित स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *