कांग्रेसकाे इतर पक्षको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २२, शुक्रबार १५:४९

सर्वोच्चको पुनरवलोकन अनुमतिप्रति शशांकको स्वागत, पार्टी एकता मुख्य उद्देश्य

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।


साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय भेलाका आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वसभापति देउवाले भेलालाई सम्बोधन गर्ने जानकारी दिएका हुन्।


कोइरालाका अनुसार मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकता कायम गर्दै भावी कार्यदिशा तय गर्ने उद्देश्यले राष्ट्रिय भेलाको आयोजना गरिएको हो।


उनले भने, “मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्यदिशा तय गर्न यही २०८३ साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेलाको आयोजना गरिएको हो। भेलालाई आदरणीय सभापति श्री शेरबहादुर देउवाज्यूले पनि सम्बोधन गर्नुहुनेछ।”


भेलामा पार्टी संगठन, भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूलाई सहभागी हुन कोइरालाले आग्रह गरेका छन्।
यसैबीच, कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएकोप्रति असन्तुष्ट पक्षले स्वागत गरेको छ।


कोइरालाले सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले २०८३ साउन २१ गते पुनरवलोकनको अनुमति प्रदान गरेको भन्दै त्यसको स्वागत गरेका हुन्।


“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको इजलासबाट भएको फैसला तथा आदेशउपर न्यायिक पुनरवलोकन गरिपाऊँ भनी पार्टी सभापति शेरबहादुर देउवाले दिनुभएको निवेदनमा सम्मानित सर्वोच्च अदालतले २०८३ साउन २१ गते पुनरवलोकनको अनुमति प्रदान गरेको छ,” उनले भने।


सर्वोच्च अदालतबाट हुने पुनरवलोकन प्रक्रियाबाट न्याय प्राप्त हुनेमा आफूहरू विश्वस्त रहेको कोइरालाले बताए। राष्ट्रसामु उपस्थित चुनौतीहरूको सामना गर्न कांग्रेसजनलाई एकताबद्ध गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको उनको भनाइ छ। पूर्वसभापति देउवा यही साउन २६ गते नेपाल फर्कने कार्यक्रम रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *