पत्रकार किशोर श्रेष्ठको पक्राउको सर्वत्र विरोध, तत्काल रिहाइको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण २८, बिहीबार ०९:११



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेका छन्।


बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रचण्डले समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई पत्रकार श्रेष्ठलाई राज्यले धरपकड गर्नु लोकतन्त्रको उपहास भएको बताएका हुन्।


‘किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो,’ प्रचण्डले फेसबुकमा लेखेका छन्।


उनले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्। श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार साँझ ललितपुरको नख्खुबाट पक्राउ गरेको थियो। उनको पक्राउको घटनाप्रति सञ्चारमाध्यम, पत्रकार, बौद्धिक जगत तथा विभिन्न राजनीतिक दलका नेताहरूले आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेका छन्।


नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको पक्राउको विरोध गर्दै बिहीबार बिहान ९ बजेदेखि काठमाडौंको भद्रकालीस्थित प्रहरी कार्यालयमा धर्ना दिइरहेको छ।


समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिएको भन्दै श्रेष्ठको पक्राउप्रति सर्वत्र आलोचना भइरहेको छ। पत्रकार महासंघसहित विभिन्न सञ्चारसम्बद्ध संस्था, बौद्धिक व्यक्तित्व तथा राजनीतिक दलहरूले पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *