काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।
बिहीबार स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवालाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेता कोइरालाले सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको दाबी गर्दै देउवा नेतृत्वमै पार्टीलाई बलियो बनाउनुपर्ने बताएका हुन्।
कोइरालाले कांग्रेसभित्रको आन्तरिक एकतामा जोड दिँदै पार्टीबाट अलग भएको पक्षलाई पुनः मूलधारमा ल्याउनुपर्ने बताए। उनले कांग्रेसलाई एक ढिक्का बनाउने प्रयास निरन्तर जारी रहने उल्लेख गरे।
पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै कोइरालाले ‘सानेपा कांग्रेस’ छुट्टिएर गएको टिप्पणी गरे। उनले उनीहरूलाई पुनः पार्टीको मूलधारमा आउन आग्रहसमेत गरे।
‘सानेपा कांग्रेस छुट्टिएर गएको छ, उनीहरू आउनुपर्ने हो। उनीहरूले अनादर गर्छन्, के गर्छन् उनीहरूको कुरा हो। देउवा पार्टीको सभापति नै हो। अहिले पनि नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै हो। उहाँ नै सभापति हो,’ कोइरालाले भने।
सभापति देउवाको नेतृत्वसम्बन्धी कुनै ‘स्टे अर्डर’ आएको छ कि छैन भन्ने प्रश्न गर्दै उनले पार्टी एकताका लागि आफूहरूको प्रयास जारी रहने बताए। ‘स्टे अर्डर आएको छ कि छैन? हाम्रो प्रयास एक गर्न रहन्छ,’ उनले भने।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्