काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता नदिएको संकेत गरेको छ।
शुक्रबारदेखि काठमाडौँमा सुरु भएको देउवा–शेखर पक्षको राष्ट्रिय भेलामा विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको नयाँ हैसियतलाई सम्बोधन र आसन ग्रहणका क्रममा उल्लेख गरिएन। सहभागी नेताहरूलाई १४औँ महाधिवेशनबाट निर्वाचित पद र जिम्मेवारीकै आधारमा सम्बोधन गरिएको थियो।
देउवालाई सभापतिकै रुपमा र पुर्णबहादुर खड्कालाई कावा सभापतिकाे रुपमा आसनग्रहण गराइएकाे थियाे ।
प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा पनि विशेष महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई मान्यता दिइएन। बरु सहभागी नेताहरूलाई १४औँ महाधिवेशनकै पदाधिकारी तथा सदस्यका रूपमा प्रस्तुत गरिएको थियो।
यस घटनाले देउवा र शेखर पक्ष गगन थापा नेतृत्वको वर्तमान कार्यसमितिलाई स्वीकार गर्ने अवस्थामा नरहेको देखाएको छ।
यसअघि निर्वाचन आयोग र सर्वोच्च अदालतबाट विशेष महाधिवेशन तथा गगन थापा नेतृत्वको कार्यसमितिको वैधानिकताका पक्षमा निर्णय भएका थिए। यद्यपि, विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको अनुमति दिएपछि विषय पुनः कानुनी बहसमा प्रवेश गरेको छ।
सर्वोच्चले पुनरावलोकनको बाटो खुला गरेकै समयमा देउवा–शेखर पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो। उक्त निर्णयलाई आधार बनाउँदै यो समूहले गगन नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्ने रणनीति अघि बढाएको देखिन्छ।
राष्ट्रिय भेलामा देखिएको यो व्यवहारले कांग्रेसभित्रको नेतृत्व र वैधानिकताको विवादलाई थप जटिल बनाएको छ। एकातर्फ गगन थापा नेतृत्वको समितिले आफूलाई पार्टीको आधिकारिक नेतृत्वका रूपमा प्रस्तुत गरिरहेको छ भने अर्कोतर्फ देउवा–शेखर पक्षले १४औँ महाधिवेशनबाट कायम संरचनालाई आधार बनाएर राजनीतिक गतिविधि अघि बढाएको छ।
यससँगै कांग्रेसभित्रको शक्ति संघर्ष अब राजनीतिकसँगै कानुनी मोर्चामा समेत थप पेचिलो बन्ने संकेत देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्