काठमाडौँ । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अनुसार अाज सभापतिहरूको मनाेनयन हुँदैछ । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।
समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ । समितिकाे सभापतिका लागि नेपाली कांग्रेसबाट चार जनाकाे नाम सिफारिस भएको छ। कांग्रेसबाट राज्य व्यवस्था समितिमा राममहरि खतिवडा,कृषि समितिमा डा. अारजु राणा , अर्थ समितिमा सन्ताेष चालिसे,कानुन न्याय तथा संसदीय समितिमा जीवन परियारलाई पठाउने निर्णय भएको स्राेतले बताएको छ ।
संस्थापनबाट खतिवडा,राणा ,र चालिसेलाई पढाउने निर्णय भएको छ भने संस्थापन इतरबाट जीवन परियारलाई पठाउने सहमति भएको छ ।यस्तै एमालेकाे भागमा परेकाे र माअाेवादीकाे भागमा परेकाे समितिका सभापतिहरूको नाममा पनि सहमति जुटाउने सहमति हुदँछ ।संसदमा चाैथाे ठूलाे दल रास्वपा र राप्रपाले भने समिति सभापति नपाउने पक्का भएको छ ।
सविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सङ्घीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिकरूपमा उत्तरदायी हुने संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएकाे ।
प्रतिनिधिसभा नियमावलीमा सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए÷गरेका कामकारबाहीका अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन र राय सल्लाह दिनसमेतका लागि संसदीय समिति रहने उल्लेख छ ।
अघिल्लो सङ्घीय संसद्मा प्रतिनिधिसभा मातहतका १०, राष्ट्रियसभाका चार र संयुक्त समितिका रूपमा रहेका दुई गरी १६ विषयगत समितिमध्ये नौको नेतृत्व महिलाले गर्नुभएको थियो ।
प्रतिनिधिसभामा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् ।
पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्ने छ ।