देउवाले भने– विशेष महाधिवेशन चाहेकै थिइनँ, अदालतबाट न्याय पाउँछौँ

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३०, शनिबार १४:२०



काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताएका छन्।


शनिबार साउन ३० गते काठमाडौंको महाराजगन्जस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले विशेष महाधिवेशनको विषयमा आफूहरू सर्वोच्च अदालत पुगेको जानकारी दिए। मुद्दा विचाराधीन रहेकाले यसबारे धेरै बोल्न नमिल्ने उनको भनाइ थियो।
“विशेष महाधिवेशनको पक्षमा म थिइनँ। हामीले मुद्दा दिएका छौँ, मुद्दा दिएको विषयमा धेरै बोल्नु हुँदैन,” देउवाले भने, “मलाई विश्वास छ, सर्वोच्च अदालतले न्याय दिन्छ।”


देउवाले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको पनि बताए। कांग्रेसभित्र देखिएको विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए।


आफ्नो गृहप्रदेश सुदूरपश्चिम र गृहजिल्ला डडेलधुराका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउँदै देउवाले बाँकी काम पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। “डडेलधुराका लागि अझै गर्न बाँकी छ, त्यो पनि पूरा गर्छु,” उनले भने।


प्रेस स्वतन्त्रताको विषयमा पनि देउवाले आफू सधैँ पक्षमा रहेको स्पष्ट पारे। प्रेसले आफ्नो आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले प्रेस स्वतन्त्रता लोकतन्त्र र गणतन्त्रको संरक्षणका लागि महत्वपूर्ण रहेको बताए।


“प्रेसको सन्दर्भमा उसको आफ्नो आचारसंहिताको विषय हो,” देउवाले भने, “प्रेस स्वतन्त्रता भएको मुलुकमा मात्रै गणतन्त्रको रक्षा हुन्छ।”


गत वर्ष पुसमा नेपाली कांग्रेसको विशेष महाधिवेशन भएको थियो। उक्त महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै देउवा पक्षले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *