नुवाकोट । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जिल्लाका विभिन्न स्थानमा पहिरोबाट प्रभावित तथा जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण गरी स्थानीयवासीका समस्या र गुनासा सुन्नुभएको छ ।
मनसुनजन्य विपद्का कारण जिल्लाका विभिन्न स्थानमा सडक तथा बस्तीमा पहिरो खस्दा जनजीवन प्रभावित भएको तथा कतिपय बस्ती जोखिममा परेपछि सञ्चारमन्त्री तिमिल्सिनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोली लिएर जोखिमयुक्त क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो ।
उहाँले सूर्यगढी गाउँपालिका–२ चोकदेमा रहेको राम्चे भिर, रातामाटे तथा पहरेथोक लगायतका पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्नुभयो । सडकमा पहिरो खस्दा आसपासका बस्तीसमेत जोखिममा परेको अवस्थाबारे स्थानीयवासी र सम्बन्धित निकायका अधिकारीसँग जानकारी लिनुभयो ।
सूर्यगढी गाउँपालिका–२ स्थित राम्चे र रातामाटे क्षेत्रमा पहिरोका कारण पहरेथोक, फट्पुर लगायतका बस्ती जोखिममा परेका छन् । पहिरोको अवस्था, त्यसले बस्तीमा पारेको प्रभाव तथा तत्काल अपनाउनुपर्ने सुरक्षा उपायबारे सञ्चारमन्त्री तिमिल्सिनाले जोखिमयुक्त बस्तीका बासिन्दा, सडक इन्जिनियर, भूगर्भविद्, जनप्रतिनिधि, स्थानीय अधिकारीसँग छलफल समेत गर्नुभयो ।
स्थलगत निरीक्षणका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले पहिरोको जोखिममा रहेका बस्तीको जोखिम पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारका सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
उहाँले विपद् जोखिम न्यूनीकरणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जोखिममा रहेका बस्तीको पहिचान, बस्ती व्यवस्थापन तथा स्थानान्तरण, प्रभावित परिवारलाई सुरक्षित आश्रय, राहत तथा पुनःस्थापनाका काममा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले अग्रसरता लिनुपर्ने बताउनुभयो ।
मन्त्री डा. तिमिल्सिनाले जोखिममा रहेका सबै परिवारलाई तत्कालका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले अस्थायी टहरा तथा टेन्टको व्यवस्था नभएका परिवारलाई समेत तत्काल आवश्यक व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।
सञ्चार मन्त्री तिमिल्सिनाले जिल्लाको विद्युत् वितरण प्रणाली, आवश्यक पूर्वाधार, सेवा प्रवाहका क्रममा देखिएका समस्या तथा समाधानका लागि भइरहेका पहलका विषयमा समेत प्राधिकरणका अधिकारीसँग जानकारी लिनुभयो । जोखिमयुक्त क्षेत्रमा विद्युत् संरचनाको सुरक्षासहित वैकल्पिक व्यवस्थामा समेत ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै, सडक डिभिजन नुवाकोटको टोलीसँग पनि सडकको अवस्थाबारे जानकारी लिँदै पहिरोका कारण अवरुद्ध तथा जोखिममा परेका सडकखण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक काम तत्काल अघि बढाउन निर्देशन दिनुभयो ।

स्थलगत निरीक्षणका क्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सूर्यगढी गाउँपालिका–१ को सेमराङ तथा वडा नं. २ का फट्पुर र पहरेथोक लगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो । जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक पहल भइरहेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ भने जोखिमको थप मूल्याङ्कन गरी दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा समेत काम भइरहेको छ ।
स्थलगत निरीक्षणकै क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सूर्यगढी गाउँपालिका–४ स्थित स्थानीय प्रकाश गिरीको पहिरो प्रभावित घरको समेत अवलोकन गरी प्रभावित परिवारसँग कुराकानी गर्नुभयो ।
यसै क्रममा उहाँले दिउँसो दुप्चेश्वर गाउँपालिका–३ सरमथलीको पहिरो क्षेत्रको निरीक्षण गर्नुभयो ।
लगातारको वर्षाका कारण नुवाकोटका विभिन्न ग्रामीण सडक तथा बस्तीमा पहिरोको जोखिम बढेको छ । स्थलगत निरीक्षणबाट पहिरोको वास्तविक अवस्था, जोखिममा रहेका परिवारको संख्या, सडक तथा विद्युत् पूर्वाधारमा भएको क्षति र तत्काल गर्नुपर्ने कामको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
रेडियो नेपाल अनलाइन
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्