वामपन्थी नेता गणेश पण्डितको स्मृतिमा शोध समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३१, आईतवार ०८:१०

काठमाडौँ, ३१ साउन । पूर्वसांसद, वामपन्थी नेता तथा समाजसेवी स्वर्गीय गणेश पण्डितको ८०औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा शोध समीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।


गणेश पण्डित स्मृति केन्द्र नुवाकोटको आयोजनामा सोह्रखुट्टेस्थित लेखनाथ सदनमा आयोजित कार्यक्रममा पण्डितको राजनीतिक, सामाजिक तथा वैचारिक योगदानमाथि चर्चा गरिएको थियो।
प्रा. डा. सुधा त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुईवटा शोधपत्र प्रस्तुत गरिएका थिए। कमला महतले तयार पारेको ‘कालापानी कविता सङ्ग्रहका कवितामा समाजवादी यथार्थवाद’ विषयक शोधपत्रमाथि उपप्राध्यापक ऋषिराम खनालले समीक्षा गर्नुभएको थियो।


त्यस्तै, नारायण नेपालद्वारा तयार पारिएको ‘नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डित : एक अध्ययन’ विषयक शोधपत्रमाथि नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले समीक्षा गर्नुभएको थियो।


कार्यक्रममा वक्ताहरूले नुवाकोटको शिखरबेशीमा जन्मिएका गणेश पण्डितले नेपाली वामपन्थी आन्दोलन, राष्ट्रिय राजनीति तथा सामाजिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको चर्चा गरेका थिए। उनीहरूले पण्डितको राजनीतिक जीवन, वैचारिक प्रतिबद्धता र समाजसेवाका पक्षलाई आगामी पुस्तासम्म पुर्‍याउन अनुसन्धान तथा अभिलेखीकरणको आवश्यकता रहेकोमा जोड दिए।


कार्यक्रममा पण्डितको योगदानको स्मरण गर्दै उहाँसँग जोडिएका राजनीतिक, सामाजिक तथा साहित्यिक पक्षमा थप अध्ययन र अनुसन्धान हुनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।
गणेश पण्डित स्मृति केन्द्रले उहाँको योगदानलाई जीवन्त राख्ने उद्देश्यले विभिन्न अध्ययन, अनुसन्धान तथा स्मृतिमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *