काठमाडौँबाट चोरी भएका तीन मोटरसाइकल नुवाकोटमा बरामद

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३१, आईतवार ०९:०८

विदुर, नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटले काठमाडौँबाट चोरी भएका तीन वटा मोटरसाइकल विभिन्न स्थानबाट बरामद गरेको छ। प्रहरीले साउन महिनामा गस्ती, सवारी चेकजाँच तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित प्रहरी टोलीमार्फत चोरीका मोटरसाइकल बरामद गरेको जनाएको छ।


जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पहिलो मोटरसाइकल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ स्थितबाट चोरी भएको थियो। आनन्द थापाको नाममा रहेको इन्जिन नम्बर OE4FA2291911 र च्यासिस नम्बर MD634KE47A2F81765 भएको रातो रङको बा ४९ प १३५३ नम्बरको Apache RTR मोटरसाइकल चोरी भएकोमा साउन २२ गते दिउँसो ४ः३० बजे नुवाकोटको तादी गाउँपालिका–४ तामेबाट प्रहरीले बरामद गरेको हो। उक्त चोरी घटनामा संलग्न दुई जनामाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


त्यस्तै, काठमाडौँ महानगरपालिका–३२ शंखमुलस्थितबाट चोरी भएको बिजे भुपालको बा.प्र. ०२–००१ प ५१४२ नम्बरको मोटरसाइकल पनि नुवाकोटमा फेला परेको प्रहरीले जनाएको छ। साउन २५ गते दिउँसो १२ः५० बजे विदुर नगरपालिका–५ पिपलटारस्थित विशालकुमारले चलाइरहेको अवस्थामा दुर्घटना भएको मोटरसाइकल फेला पारी प्रहरीले बरामद गरेको हो। उक्त मोटरसाइकल चोरीसम्बन्धी घटनामा समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


यसैगरी, जिल्ला प्रहरी कार्यालय मातहतको अस्थायी प्रहरी पोष्ट बसपार्क नुवाकोटबाट खटिएको प्रहरी टोलीले गस्तीका क्रममा बेवारिसे अवस्थामा बा.प्र. ०२–०५० प ३७४२ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकल फेला पारी बरामद गरेको छ।
सवारीधनीको विवरण माग्दा उक्त मोटरसाइकल जिल्ला नुवाकोट किस्पाङ गाउँपालिका–२ फिकुरे बस्ने पूर्णबहादुर तामाङको रहेको खुलेको प्रहरीले जनाएको छ। सवारीधनी खुल्न आएपछि साउन २९ गते सम्बन्धित सवारीधनीलाई मोटरसाइकल बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।


प्रहरीका अनुसार बरामद गरिएका मोटरसाइकल चोरीसम्बन्धी घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *