
विदुर नगरपालिकास्थित सिम्बुटारमा २०७२ सालदेखि भुकम्प पीडितका नाममा बस्दै आएका ६५ परिवारलाई हटाउने क्रममा तैनाथ गरिएका प्रहरीहरु ः तस्बिर, विदुर नगरपालिका
विदुर । जिल्ला प्रहरी कार्यालयले हिजो शनिबार भएको घटनामा सात जनालाई पक्राउ गरि मुद्दा चलाउने भएको छ । बिदुर नगरपालिका, जिल्ला बिपद ब्यवस्थापन समिति तथा गृह मन्त्रालयको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषदको २०७९ भदौं २७ गतेको बैठकले बिदुर नगरपालिका वडा नं. १ स्थित ईन्द्रायणी चौरमा रहेको साविक भैरवी –१ कित्ता नम्बर ५० को १४२–१०–२–३ रोपनी जग्गा क्षेत्रफल लिजमा सिटिइभिटी अन्तर्गतको पोष्ट बहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई दिने निर्णय भएकोमा २०७२ साल को भुकम्प पश्चात जिल्लाका बिभिन्न स्थानबाट आएर उक्त जग्गामा लामो समयदेखि अबैध रुपमा कब्जामा लिई टहरा बनाई बस्दै आएका थिए ।
उक्त शिक्षालयले बिदुरनगरपालिकालाई जग्गा खालि गराउन अनुरोध गरे अनुसार वैशाख १७ गते गते बिदुर नगरपालिकाले सर्वदलीय बैठक मार्फत जग्गा खाली गराउने निर्णय गर्दै पटक पटक जग्गा खाली गर्न सूचना प्रकाशित गर्दै आएकोमा अटेरी गरेपछि भदौं ७ गते भएको जिल्ला सुरक्षा समितिको निर्णयानुसार हिजो ९ गते शनिवार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली लगायतको टोली जग्गा खाली गर्न उक्त स्थानमा पुगेको थियो । प्रहरी पुगेपछि उनीहरुले ढुंगामुढा गरि प्रहरी माथि आक्रमण गरेपछि घट्नालाई नियन्त्रणमा लिन प्रहरीद्वारा ११ सेल अश्रुग्यांस प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो । उक्त घटनामा प्रहरी निरीक्षक सहीत ७ जना प्रहरी कर्मचारी घाईते भएका थिए ।
उक्त घट्नामा संलग्न ७ जनालाई घट्नास्थलबाट पक्राउ गरि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत अभद्र ब्यहार कसूरमा दिन ७ (सात) म्याद लिई अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका उनुसार पक्राउ परि मुद्दा दर्ता का लागि म्याद थप भएकाहरुमा नुवाकोट किस्पाङ गा.पा. वडा नं. १ बस्ने ३६ वर्षीय तर्क बहादुर तामाङ ४५ वर्षीय तेज बहादुर तामाङ,३३ वर्षीय बहादुर बि.क., ४५ वर्षीय श्रीमाया तामाङ, ४४ को जित बहादुर तामाङ , रसुवा आमाछेदिङमो गापा वडा नं. १ बस्ने ३५ वर्षीय तेन्जिङ तामाङ र जिल्ला रसुवा नौकुण्ठ गापा वडा नं.०५ बस्ने २९ वर्षीय ठाकुर तामाङ रहेका छन् ।