प्रगतिशील लोकतान्त्रिक पार्टीको राष्ट्रिय सम्मेलन चितवनमा, मङ्सिर ५ देखि ७ गतेसम्म

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३१, आईतवार १८:२२

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी २०८३ साल मङ्सिर ५, ६ र ७ गते चितवनमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। पार्टीको सचिवालयको विस्तारित बैठकले राष्ट्रिय सम्मेलनको मिति र स्थान तय गर्दै संगठनात्मक तथा राजनीतिक पुनर्संरचनासम्बन्धी महत्वपूर्ण निर्णय गरेको हो।


साउन २४ गते बसेको सचिवालयको विस्तारित बैठकले पार्टीको संरक्षकमा जनार्दन शर्मा ‘प्रभाकर’लाई राख्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले जानकारी दिए।
तामाङका अनुसार बदलिँदो राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरिएको हो।


बैठकले दुर्गा सोबको टिम र राम कार्कीलाई उज्ज्वल भविष्यको कामना गर्दै पार्टीबाट बिदाइ गर्ने निर्णयसमेत गरेको छ। उनीहरूको आगामी राजनीतिक यात्राको सफलताको कामना गर्दै बिदाइ गर्ने निर्णय गरिएको तामाङले बताए।


चितवनमा हुने राष्ट्रिय सम्मेलनले पार्टीको आगामी राजनीतिक कार्यदिशा, वैचारिक नीति, संगठनात्मक संरचना तथा भावी कार्यक्रमबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ। सम्मेलनलाई पार्टीको आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको पार्टीले जनाएको छ।


प्रचार विभाग प्रमुख तामाङले राष्ट्रिय सम्मेलनले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, आर्थिक तथा सामाजिक परिस्थितिको समीक्षा गर्दै प्रगतिशील, वाम/समाजवादी एवं लोकतान्त्रिक आन्दोलनलाई थप प्रभावकारी र जनमुखी बनाउने दिशामा नयाँ कार्यदिशा तय गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *