काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नागरिकलाई सञ्चालनमा रहेका वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ।
प्राधिकरणले बाढीका कारण मुख्य सडक तथा यातायात प्रभावित भएकाले सडकमार्गबाट आवतजावत सम्भव हुने नागरिकले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको हो। साथै अत्यावश्यक खोज तथा उद्धार र राहत सामग्री ढुवानीबाहेक अन्य प्रयोजनमा हेलिकोप्टर प्रयोग नगर्नसमेत आग्रह गरिएको छ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म २५२ जना विदेशी र ३ हजार ३४४ जना नेपाली गरी ३ हजार ५९६ जनाको हवाई उद्धार भइसकेको छ। न्यून प्रभावित, अप्रभावित तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकोप्टर उद्धारको माग भइरहेको भन्दै सीमित हवाई साधनलाई अत्यावश्यक उद्धारमा केन्द्रित गर्न प्राधिकरणले आग्रह गरेको हो।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार धादिङतर्फ धादिङबेँसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरेनीटार हुँदै पृथ्वी राजमार्ग पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ।
त्यस्तै, रसुवातर्फ विदुर–ढिकुरे–चौघडा–आपचौर–नर्जे–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे जाने वैकल्पिक मार्गबाट चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन गर्न सकिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले रसुवाका उत्तरगया, गोसाइँकुण्ड, आमाछोदिङ्मो र कालिका गाउँपालिका, नुवाकोटका तारकेश्वर, किस्पाङ, विदुर र बेलकोटगढी तथा धादिङका गल्छी, गजुरी, बेनीघाट रोराङ र सिद्धलेकसहित प्रभावित स्थानीय तह तथा वडाहरूको विवरणसमेत सार्वजनिक गरेको छ।
विपद्को संवेदनशील अवस्थामा स्रोत–साधनको अधिकतम सदुपयोग गर्दै अत्यावश्यक खोज, उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने भन्दै प्राधिकरणले सबैलाई सहयोग गर्न अपिल गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्