नीलकण्ठ माविका २०० विद्यार्थी बेपत्ता, १०० विद्यार्थी अभिभावकविहीन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १५, सोमबार १७:३१

रसुवा — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा ठूलो मानवीय संकट निम्त्याएको छ। विद्यालयमा अध्ययनरत करिब ५०० विद्यार्थीमध्ये २०० जना अझै बेपत्ता रहेको विद्यालयका प्रधानाध्यापक माधव लामिछानेले बताउनुभएको छ।


प्रधानाध्यापक लामिछानेका अनुसार बाढीमा विद्यालयका तीन जना शिक्षक र एक जना विद्यालय कर्मचारीसमेत बेपत्ता छन्। बाढीका कारण करिब १०० जना विद्यार्थी अभिभावकविहीन भएको उहाँले जानकारी दिनुभयो।


बाढीपछि विद्यार्थी तथा प्रभावित परिवारहरू अहिले हेडिङ सेन्टरमा आश्रय लिएर बसेका छन्। त्यहाँ खाद्यान्नको केही व्यवस्था भए पनि प्रभावित विद्यार्थी तथा परिवारका लागि तत्काल लगाउने कपडा, प्याड, मञ्जन, साबुनलगायत व्यक्तिगत सरसफाइ (हाइजिन) सामग्रीको अत्यावश्यक आवश्यकता रहेको विद्यालयले जनाएको छ।


भोटेकोशीमा आएको भीषण बाढीले रसुवा हुँदै नुवाकोट र धादिङसम्म नदी किनारमा रहेका बजार तथा बस्तीहरूमा समेत व्यापक क्षति पुर्‍याएको छ। कतिपय बजार र बस्तीहरू बाढीले बगाएर बगरमा परिणत भएका छन् भने ठूलो संख्यामा नागरिक विस्थापित तथा बेपत्ता भएका छन्।


यस विषम परिस्थितिमा उद्धारसँगै विस्थापित विद्यार्थी तथा परिवारको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्नसँगै कपडा, महिला तथा बालबालिकाका लागि आवश्यक सामग्री र सरसफाइका सामग्री उपलब्ध गराउन सहयोगी संघसंस्था तथा नागरिकलाई विद्यालयले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *