काठमाडौँ । खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा र नुवाकोटका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रम घोषणा गरेको छ।
केल्मी नेपालले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरिसकेको जनाएको छ।
कम्पनीका अनुसार आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा करिब डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन गरिनेछ। उक्त क्लोथ बैंकमार्फत उपलब्ध गराइने नयाँ कपडा बाढी तथा पहिरो प्रभावित नागरिकलाई पूर्ण रूपमा निःशुल्क वितरण गरिनेछ।
राहत सामग्री वितरण गर्दा वास्तविक प्रभावितसम्म सहयोग पुग्ने सुनिश्चित गर्न नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक सूचीलाई आधार बनाइने केल्मीले जनाएको छ। यसबाट राहत वितरणमा पारदर्शिता कायम हुनुका साथै आवश्यकतामा रहेका नागरिकले प्राथमिकताका आधारमा सहयोग पाउने कम्पनीको विश्वास छ।
केल्मी नेपालले विगतमा पनि विभिन्न प्राकृतिक विपत्ति तथा अप्ठ्यारो परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोग गर्दै आएको जनाएको छ। यसपटक पनि विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै राहत कार्यक्रम अघि बढाइएको कम्पनीले जनाएको छ।
यसैबीच, बाढीका कारण नुवाकोटको त्रिशूलीस्थित केल्मीको सोरुम पूर्ण रूपमा क्षतिग्रस्त भएपछि विदुर वा आसपासको क्षेत्रमा नयाँ सोरुम विस्तार गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपाने बेलकोटगढी नगरपालिका–५, दुईपिपल निवासी हुन्। न्यौपानेले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्नु कम्पनीको सामाजिक दायित्व भएको बताउँदै राहत कार्यक्रम अघि बढाइएको जानकारी दिएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्