नुवाकोट । नेपाली कांग्रेस नेतृ पवित्रा पुडासैनीको नेतृत्वमा भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई नुवाकोटका विभिन्न स्थानमा राहत सामग्री वितरण गरिएको छ।
पुडासैनीको नेतृत्वमा बेलकोटगढीमा १ हजार ७ सय किलो र विदुर नगरपालिका–७, तुप्चेमा ३ हजार ५ सय किलो गरी कुल ५ हजार २ सय किलो राहत सामग्री वितरण गरिएको हो। उक्त राहत समाग्री हेल्प नेपाल नेटवर्क काठमाडौंले उपलब्ध गराएको पुडासैनीले जानकारी दिएकी छिन् ।
राहत सामग्रीमा दाल, चामल, तेल, चिउरा लगायतका खाद्यान्न सामग्री रहेका छन्। बेलकोटगढीमा आफू प्रत्यक्ष उपस्थित हुन नसकेकाे भन्दै जिल्ला सह सचिव यादव नेपालकाे नेतृत्वमा वडा अध्यक्ष भुवन नेपालकाे उपस्थितिमा वितरण गरिएको पुडासैनीले बताएकी छन्।
राहत वितरणपछि पुडासैनीले सहयोगी सबैप्रति आभार व्यक्त गर्दै विपद्मा परेका नागरिकलाई सहयोग गर्ने आफ्नो अभियान निरन्तर जारी रहने बताएकी छन्। उनले मंगलबार नै वितरण गर्ने तयारीका साथ आफूहरु गएपनि अप्ठ्यारो बाटाेका कारण सम्बन्धित स्थानमा पुग्दा रातकाे १० बजेकाले बिहान वडा अध्यक्ष तथा स्थानीयलाई वितरणकाे जिम्मेवारी दिएर फर्किएको जानकारी दिइन ।
भोटेकोशी बाढीका कारण विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका विभिन्न वडा प्रभावित भएका छन्। बाढीबाट प्रभावित परिवारलाई तत्कालीन राहतसँगै आगामी दिनमा पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग आवश्यक रहेको स्थानीयवासीले बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्