भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरी परिवारलाई विशेष राहत, ४० करोड उद्धार कोषमा दिने निर्णय

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १७, बुधबार २०:१०

भोटेकोशी–त्रिशूली बाढीमा ज्यान गुमाएका प्रहरी परिवारलाई विशेष राहत, ४० करोड उद्धार कोषमा दिने निर्णय
काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।


बुधबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरी समन्वय समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरी कर्मचारीबाट संकलित राहत कोषबाट विशेष आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।


बैठकले दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटीसमेत मिनाहा गर्ने निर्णय गरेको छ । प्रभावित परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक तालिम प्रदान गरी रोजगारीको अवसरका लागि आवश्यक पहल गर्ने निर्णय पनि गरिएको छ ।


त्यस्तै, दिवंगत प्रहरीका सन्ततिलाई आधारभूत तहसम्म पायक पर्ने प्रहरी आवासीय विद्यालयमा तथा उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा शिक्षण शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने भएको छ ।


बाढीपछि सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीलाई थप प्रभावकारी बनाउन विशेषज्ञ टोली परिचालन गर्ने निर्णय भएको छ । खोजीका क्रममा परिवारका सदस्यसँग निरन्तर समन्वय गरिने प्रहरीले जनाएको छ । बाढीमा घाइते भएका प्रहरी कर्मचारीको उपचारमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि बैठकले जनाएको छ ।


बाढीबाट प्रभावित प्रहरी इकाइहरू इप्रका टिमुरे, अस्थायी प्रहरी पोस्ट मैलुङ, प्रहरी चौकी रसुवागढी, प्रहरी चौकी स्याफ्रुवेशी र प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीको व्यक्तिगत सामानमा भएको क्षतिबापत जनही ५० हजार रुपैयाँ राहत दिने निर्णयसमेत गरिएको छ ।


उद्धार कोषमा ४० करोड सहयोग
नेपाल प्रहरीले राष्ट्रिय विपद्का बेला सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । उक्त रकम पनि प्रहरी कर्मचारीको योगदानबाट संकलन गरिएको हो ।


दिवंगत, बेपत्ता तथा घाइते प्रहरीका परिवारले सेवा–सुविधा र उपचार सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले मानवस्रोत विकास विभागका एक वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकिएको प्रहरीले जनाएको छ ।


प्रहरी प्रधान कार्यालयका अनुसार भोटेकोशी–त्रिशूली बाढीमा हालसम्म तीन जना प्रहरी कर्मचारीको शव फेला परेको छ भने २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *