नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य भइरहेका बेला जिल्ला प्रशासन कार्यालय नुवाकोटले अनुमतिबिना ड्रोन उडान नगर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचनामा बाढीबाट रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि नेपाली सेना, सुरक्षा निकाय तथा निजी क्षेत्रको समन्वयमा हेलिकोप्टरहरू निरन्तर परिचालन भइरहेको जनाएको छ।
उद्धार उडानको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ‘मानवरहित हवाई उपकरण (RPA/Drone) उडानसम्बन्धी कार्यविधि, २०७५’ बमोजिम सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन प्रशासनले अनुरोध गरेको हो।
प्रशासनका अनुसार अनुमतिबिना ड्रोन उडाउँदा हवाई सुरक्षामा गम्भीर जोखिम उत्पन्न हुन सक्ने तथा हेलिकोप्टरमार्फत भइरहेको खोज तथा उद्धार कार्यमा समेत बाधा पुग्न सक्छ। त्यसैले सम्बन्धित सबैलाई पूर्वस्वीकृति नलिई ड्रोन उडान नगर्न सचेत गराइएको छ।
अनुमति बिना ड्रोन उडाएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीसमेत हुने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले हालै आफ्नो वेबसाइटमा समेत यही विषयमा अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्