नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पठनपाठन सुचारु गर्न चौधरी ग्रुपले आवश्यक सहयोग गर्ने घोषणा गरेको छ।
जिल्लाकै नमुना तथा सबैभन्दा पुराना विद्यालयमध्ये एक रहेको उक्त विद्यालयमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन्। भदौ १० गते आएको भोटेकोशी बाढीले विद्यालयको भवनसहित सम्पूर्ण भौतिक संरचना बगाएपछि पठनपाठन प्रभावित भएको छ।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले बाढी आउनुअघि विद्यार्थीलाई सुरक्षित स्थानमा पुर्याएर ठूलो मानवीय क्षति हुनबाट जोगाएको भन्दै देश–विदेशबाट प्रशंसा पाउँदै आउनुभएको छ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले प्रधानाध्यापक दवाडीसँग भेट गरी विद्यालयको अवस्था र आगामी शैक्षिक गतिविधिबारे जानकारी लिनुभएको हो। उहाँले विद्यालयको नयाँ पक्की भवन निर्माण भएर हस्तान्तरण नभएसम्म पठनपाठन सञ्चालनका लागि आवश्यक स्मार्ट बोर्ड, कम्प्युटर, फर्निचरलगायत सम्पूर्ण शैक्षिक तथा भौतिक सामग्री सहयोग गर्ने घोषणा गर्नुभएको छ।
चौधरीले विद्यालयको भवन निर्माणमा समेत सहयोग गर्ने इच्छा रहेको बताउँदै भवन पुनर्निर्माणको जिम्मेवारी भारतीय दूतावासले लिएको जानकारी आफूले पाएको उल्लेख गर्नुभयो। त्यसका बाबजुद विद्यालयको पुनर्निर्माणमा चौधरी ग्रुपको समेत सहयोग आवश्यक भए आफूहरू तयार रहेको उहाँको भनाइ छ।
प्रधानाध्यापक दवाडीले छोटो समयमै निर्णय लिएर विद्यार्थीको जीवन जोगाउन सफल भएको भन्दै चौधरीले प्रशंसा गर्नुभएको थियो। उहाँले विपद्को समयमा विद्यालयको संरचना गुमे पनि विद्या र शिक्षाको निरन्तरता रोक्न नहुने धारणा व्यक्त गर्नुभयो।
भोटेकोशी बाढीबाट विद्यालयको सम्पूर्ण संरचना ध्वस्त भएपछि विद्यालयले यसअघि नै पुनर्निर्माणका लागि सहयोगको अपिल गरेको थियो। जिल्लाको शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान राख्ने विद्यालय पुनःनिर्माणसँगै हजारौँ विद्यार्थीको भविष्य सुनिश्चित गर्न विभिन्न क्षेत्रबाट सहयोग जुट्न थालेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्