नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा नेपाली सेनाले बेलीब्रिज निर्माणको काम तीव्र गतिमा अघि बढाएको छ। भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली र तादी नदी जोड्ने दुईवटा पक्की पुल बगाएपछि अवरुद्ध भएको सडक तथा आवागमन सुचारु गर्न बेलीब्रिज निर्माण सुरु गरिएको हो।
गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकखण्डअन्तर्गत पर्ने उक्त पुल विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–८ को सीमाक्षेत्रमा पर्छ। बाढीले पुल पूर्ण रूपमा ध्वस्त बनाएपछि नदी वारपार गर्न समस्या हुँदै आएको थियो। पुल नहुँदा रसुवा, नुवाकोट हुँदै राजधानी तथा अन्य जिल्लासँगको सडक सम्पर्कसमेत प्रभावित भएको छ।
नेपाली सेनाले बेलीब्रिज निर्माणको काम सुरु गरेसँगै आवश्यक संरचना निर्माण तथा जडानको काम धमाधम भइरहेको छ। निर्माण कार्यमा नेपाली सेनासँगै स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीले समेत सक्रिय सहभागिता जनाइरहेका छन्।
निर्माण कार्य निर्धारित गतिमा अघि बढे करिब एक साताभित्र गल्छी–त्रिशूली सडकखण्डमा आवागमन सुचारु हुने अपेक्षा गरिएको छ। बेलीब्रिज सञ्चालनमा आएपछि बाढीका कारण लामो समयदेखि प्रभावित यातायात, राहत तथा उद्धार सामग्रीको ढुवानी र स्थानीयको दैनिक आवागमन सहज हुने विश्वास गरिएको छ।
भदौ १० गते आएको विनाशकारी बाढीले नुवाकोटसहित रसुवा र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीले नुवाकोट क्षेत्रमा मात्रै विभिन्न स्थानका २२ वटा पक्की पुल बगाएको बताइएको छ। देवीघाटका दुई पक्की पुलसमेत बगाएपछि वैकल्पिक आवागमनका लागि बेलीब्रिज निर्माणलाई प्राथमिकता दिइएको हो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्